बागलुङ बडिगाडकी महिलाको गुल्मीस्थित आफ्नै होटलमा विभत्स हत्या

by समतल अनलाइन

गुल्मी । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गंगादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

५८ वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । ‘घटना हत्या भएको हाम्रो आशंका छ’, रानाभाटले भने, ‘अहिले कुकुरको सहायताले अनुसन्धान हुँदैछ ।’ अविवाहित उनी एक्लै गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए ।

शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गंगाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए ।

 
 
  
 

You may also like