चार प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज (बुधबार) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात तथा तराईका भू–भागहरूमा हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 
 
  
 

You may also like