साई ग्लोबल कपः काशी र न्यु होराइजन सेमिफाइनलमा

by समतल अनलाइन

भैरहवा।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा काशी नोबल एकेडेमी र न्यु होराइजन कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबारको खेलमा काशीले मुनलाइट उच्च माविलाई ७ विकेट र न्यु होराइजनले सिद्धार्थ इन्टरनेशनल कलेजलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनको सामान्य लक्ष्य पेश गर्याे । उसका लागि अनिष यादवले १५, शिवकान्त यादव र जावेद मुस्तफा पठान खानले समान १३–१३ रन जोडे । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका शंकर रानाले ४, सुप्रित घिमिरेले ३, शेजाद आलमले २ र सन्देश जिसीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले ११ दशमलब १ ओेभरमा ३ विकेटको नोक्सानीमा ७५ रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा शेजाद आलमले नटआउट २८ र शंकर रानाले १४ रनको योगदान दिए । बलिङमा मुनलाइटका अनिष यादवले २ तथा प्रदीप साहनीले १ विकेट लिए । काशीका शंकर राना म्यान अफ द म्याच भई पुरस्कृत भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थले निर्धारित खेलमा ९ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि दीपक डुम्रेले ३६ र निरज भण्डारीले १३ रन बनाए । बलिङमा न्यु होराइजनका सुमित पराजुली र निर्मल गुरुङले २–२ तथा महेश भर, अमर मिश्रा र प्रकाश गिरीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु होराइजनले १० ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ९५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमर मिश्राले ३२, प्रकाश गिरीले नटआउट २५, संकेत भट्टराईले १८ र निश्चल ज्ञवालीले नटआउट १६ रनको योगदान दिए । बलिङमा सिद्धार्थका जितेन्द्र साहनीले १ विकेट लिए । खेलमा न्यु होराइजनका सुमित पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 
 
  
 

You may also like