बुटवलका सडक निर्माणलाई तीब्रता दिन नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ ।
नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभयो ।

पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट सडक विभागसामु खेद व्यक्त गर्नुभएको थियो । प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गर्नुभयो ।

उहाँले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिनुभयो ।
भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

 
 
  
 

You may also like