गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

by समतल अनलाइन

गुल्मी । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताउनुभयो । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण

गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरुले २० हजार कफीका बिरुवा रोपेका छन् ।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौं’, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारी समेत दिएका छन् ।

उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागेका छन् ।

आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएका छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनु भएको हो’, उनले भने ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।

कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

 
 
  
 

You may also like