समानुपातिकबाट पनि पहुँचवालाकै प्रवेश

by समतल अनलाइन

काठमाडौं । पहुँच नपुगेको क्षेत्रका व्यक्तिलाई संसदमा पुर्‍याउने उद्देश्यले समावेशी सिद्धान्तका आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट पनि ठूलाबडा र पहुँचवालाकै प्रवेश देखिएको छ ।

दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक–पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका आफन्त तथा नेतृत्वलाई रिझाउन बारम्बार उनीहरुको अघिपछि हुनेहरुले नै देखिएका छन् । क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने र सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्रको प्रतिनिधित्व भने गराउनैपर्ने संवैधानिक बाध्यता दलहरुले पालना गरेका भए पनि त्यसभित्र पनि पहुँचवालाकै प्रवेश देखिएको हो ।

समानुपातिक प्रणालीमा सबैभन्दा धेरै मत पाएको एमालेबाट स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त, नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल, व्यवसायी देवीबहादुर भट्टचन, उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापा, अघिल्लो प्रतिनिध सभामा जसपाबाट सांसद रहेकी अमृता अग्रहरि लगायतका नेताहरु समानुपातिक कोटामा सांसद बनेका छन् ।

यस्तै, दोस्रो मत पाएको नेपाली कांग्रेसबाट पार्टी उपसभापति र उपप्रधानमन्त्री भइसकेका विमलेन्द्र निधि, पार्टी प्रवक्ता, पूर्वमन्त्री डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, सभापति देउवाकी पत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण लगायतका व्यक्ति समानुपातिक सांसदमा सिफारिस भएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री भइसकेका पार्टी सचिव हितराज पाण्डे, रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका नेता शिवपुजन रायकी पत्नी मीना यादवलगायतमा सांसदमा सिफारिस भएका छन् । राप्रपाबाट पूर्वअध्यक्ष, पटक–पटक मन्त्री र सांसद भइसकेका पशुपतिशम्शेर जबरा, पूर्वमन्त्री बुद्धिमान तामाङ र नेता रोशन कार्की समानुपातिक सांसद बनेका छन् ।
जसपाबाट नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ र कार्यालय सचिव प्रकाश अधिकारी सांसद चयन भएका छन् । पहिलो पटक चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने नयाँ अनुहारलाई संसदमा पठाएको छ ।

 
 
  
 

You may also like