काठमाडौं उपत्यकाबासीको घरमा आजदेखि मेलम्चीको पानी

by समतल अनलाइन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (शुक्रबार) देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी आजदेखि पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण शुरु गरिने जानकारी दिएका छन् । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । ‘अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चार–दिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ’, प्रवक्ता राईले भने ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलो पटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

 
 
  
 

You may also like