सर्लाहीमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती र छोरीसहित चार जना घाइते

by समतल अनलाइन

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।

सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर-१२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।

पानी परेका बेला घलान दम्पती ज्वाइँ नाता पर्ने वुद्धबहादुरको घरमा गएर गफ गरेर बसिरहेको ठाउँमा चट्याङ परेको स्थानीयले बताएका छन् । घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।

 
 
  
 

You may also like