हिमपात र आगलागीबाट चार जनाको मृत्यु, एक घाइते

by समतल अनलाइन

काठमाडौं । गएको २४ घण्टामा हिमपातका कारण दुई जनाको मृत्यु भएको छ । यस्तै आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जुम्ला जिल्लाको तातोपानी गाउँपालिका-७ बारा गाउँको माथि जंगलमा वर्ष ४० का एक पुरुषको हिमपातका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको छ । सोही गाउँपालिका-८ टोप्ला बस्ने एक महिला जंगली जडीबुटी सेतक चिनी खन्न गएको अवस्थामा चिसोको कारणले कठ्याङ्ग्रिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यता, खोटाङको जन्तेढुंगा गाउँपालिका-१ बस्ने वर्ष १८ की एक किशोरी घरभित्र आगो ताप्ने क्रममा कपडामा आगो सल्किई घाइते भएकोमा उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ । यसैगरी सिरहाको कल्याणपुर नगरपालिका- ५ निर्दना बस्ने वर्ष ५५ की एक महिला आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किई मृत्यु भएको छ ।

यसैगरी, धनुषा क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने वर्ष ५० की एक महिला खाना बनाउने क्रममा चुल्होबाट साडीमा आगो सल्किई कम्मरदेखि घुँडासम्म जली घाइते भएकी छन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम मा लगिएको छ ।

 

 
 
  
 

You may also like