भारतमा एकै दिन दुई लाख ३५ हजार कोरोना संक्रमित थपिए

by समतल अनलाइन

नयादिल्ली  । भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको संख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । दैनिक नयाँ सङ्क्रमितहरूको संख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको संख्या घट्दै गएको हो ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको संख्याभन्दा सङ्क्रमण मुक्त भएकाहरूको संख्या झण्डै एक लाख धेरै छ । भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

 
 
  
 

You may also like