कांग्रेस महाधिवेशन अनिश्चित : स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने दाउ

by समतल अनलाइन

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटक पटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो ।

तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन । कांग्रेसले यसअघि गत साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो ।

कांग्रेस उच्च स्रोतका अनुसार अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने विषयलाई पनि अघि सार्ने भएका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो । प्रदेश २ मा भने सबैभन्दा पछि २ असोज २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्छ । नसकिएको अवस्थामा ६ महिना थप्न सकिन्छ ।

महाधिवेशन अझैं लम्ब्याउँदै जाने पक्षमा कांग्रेसभित्रको संस्थापनइतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाब दिँदै आइरहेका छन् ।

निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मिति समेत अब प्रभावित हुनेक्रममा छ । कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like