पाल्पा ।रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियान’ भन्ने नारासहित जन्मभूमि पूर्वी पाल्पाको विकास, शिक्षा, स्वास्थ्य र समृद्धिका लागि स्थापना भएको पूर्वी पाल्पा समाज रुपन्देहीले विपन्न तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । समाजले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा पाल्पाको रामपुर क्षेत्रमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा तथा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकता दिँदै करिब एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
रामपुरस्थित होटल श्रीनगरमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, समाजका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ, समाजकी अध्यक्ष वृन्दा भट्टराई आचार्यले श्रीराम तुल्सी उच्च माध्यमिक विद्यालयका अध्यक्ष अशोक श्रेष्ठ, प्रधानाध्यापक बालकृष्ण लम्साललाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले संस्थाको उद्देश्य, गतिविधि र आगामी योजनाबारे जानकारी गराउँदै समाजमा करिब २२५ जना सदस्य आबद्ध रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक सेवाका क्षेत्रमा समाजले योजनाबद्ध रूपमा काम अघि बढाएको उल्लेख गरे । उनका अनुसार समाजले छोरी शिक्षालाई प्रोत्साहन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । उक्त कोषबाट प्राप्त ब्याजमार्फत छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । त्यसैगरी विपद् व्यवस्थापनका लागि १० लाख रुपैयाँको अक्षयकोष रहेको र त्यसलाई आगामी दिनमा एक करोड रुपैयाँसम्म पु¥याउने लक्ष्य राखिएको उनले बताए । विपद्मा परेका पूर्वी पाल्पा क्षेत्रका नागरिक तथा अन्य आवश्यकतामा परेका व्यक्तिलाई एम्बुलेन्स, औषधोपचारलगायतमा सहयोग गर्ने समाजको योजना छ ।
समाजले रामपुरमा रक्त सञ्चार केन्द्र स्थापना गर्नसमेत पहल गरिरहेको जनाएको छ । यसका लागि रामपुर अस्पताल, रामपुर नगरपालिका र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक जग्गा तथा कोठा व्यवस्थापन गर्ने तयारी गरिएको छ । त्यस्तै, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण, लागूऔषध दुव्र्यसन र इलेक्ट्रोनिक माध्यमको गलत प्रयोगबाट जोगिन विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना समाजले अघि सारेको छ । विशेषज्ञ चिकित्सक तथा प्रशिक्षकमार्फत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष तथा पूर्व रामपुर गाविस अध्यक्ष देवराज ढकाल, रामपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भोजेन्द्र ढकाल, श्रीराम तुल्सी उच्च माध्यमिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक अशोक श्रेष्ठ, रामपुर अस्पतालका अध्यक्ष लीला गाहा र पत्रकार सीता डोटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजकी अध्यक्ष वृन्दा भट्टराई आचार्यले ‘विकासको आधार, रामपुर–बुटवल कारोबार’ भन्ने अवधारणामार्फत दुई क्षेत्रबीच व्यापारिक सम्बन्ध विस्तार गरी उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यसहित जन्मभूमि पूर्वी पाल्पाको विकास, शिक्षा, स्वास्थ्य र समृद्धिका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताइन । समाजका उपाध्यक्ष हरिहर भण्डारी कार्यक्रम संयोजक रहेको कार्यक्रम महासचिव गणेश सेढाईले सञ्चालन गरेका थिए ।

