भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

by समतल अनलाइन
16Shares

काठमाडौं । सरकारले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहदेखि उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। त्यसपछि थप प्रभावित विद्यार्थीको पहिचान गरी विभिन्न चरणमा छात्रवृत्ति उपलब्ध गराउँदै जाने मन्त्रालयको योजना छ।

यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गर्दै बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रक्रिया अघि बढाइसकेको थियो। अब उनीहरूको उच्च शिक्षालाई समेत निःशुल्क बनाउने उद्देश्यले थप व्यवस्था गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

मन्त्री पोखरेलका अनुसार प्रारम्भिक चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ भने आगामी दिनमा थप विद्यार्थीको पहिचान गरी क्रमशः छात्रवृत्तिको दायरामा समेटिनेछन्।

निर्णयअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण शिक्षा विभागले संकलन गरी सम्बन्धित छाता संस्था तथा स्थानीय तहलाई आवश्यक पत्राचार गर्नेछ। त्यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरिनेछ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई पनि विश्वविद्यालय तथा क्याम्पसमा उपलब्ध नियमित छात्रवृत्ति कोटामा थप व्यवस्था गरी समावेश गर्न मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ। यसका लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
सरकारको यस निर्णयसँगै भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालय तहदेखि उच्च शिक्षासम्म आफूले रोजेको विषय अध्ययन गर्न निःशुल्क छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ। यसले बाढीबाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता र भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

You may also like