महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

by समतल अनलाइन
20Shares

काठमाडौं । नेपाली साहित्यका महान् व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै नेपालसहित भारतका विभिन्न क्षेत्र तथा नेपाली भाषी समुदायको बाहुल्यता रहेका स्थानमा हरेक वर्ष लक्ष्मीपूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने परम्परा छ।

विसं १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीका सन्तानका रूपमा जन्मिनुभएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो। साहित्य सिर्जनासँगै तत्कालीन राणा शासनविरुद्ध सर्वसाधारणले पनि अध्ययन गर्न पाउनुपर्ने अभियानमा उहाँ सक्रिय रहनुभएको थियो। ऐतिहासिक लाइब्रेरी काण्डमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको थियो।

देवकोटाका चर्चित साहित्यिक कृतिहरूमा ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य, ‘भिखारी’ कविता संग्रह, ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य तथा ‘प्रमिथस’ महाकाव्य रहेका छन्। उहाँका सिर्जनाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गर्नुका साथै सामाजिक चेतना र मानवीय संवेदनालाई समेत सशक्त रूपमा प्रस्तुत गरेका छन्।

विज्ञान विषयमा प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएका देवकोटाले पछि मानविकी संकायमा अध्ययन गर्दै अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको थियो। औपचारिक शिक्षामा विभिन्न विषयको अध्ययन गरे पनि उहाँलाई नेपाली साहित्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान दिलायो।
काठमाडौंको एक मध्यमवर्गीय परिवारमा जन्मिनुभएका देवकोटाको जन्म लक्ष्मीपूजाकै दिन भएकाले उहाँलाई लक्ष्मीको प्रसादका रूपमा लिई ‘लक्ष्मीप्रसाद’ नामकरण गरिएको मानिन्छ।

साहित्यिक योगदानसँगै सामाजिक तथा राजनीतिक चेतनामा पनि सक्रिय देवकोटा राणा शासनको समयमा सर्वसाधारणले अध्ययन गर्न पाउनुपर्ने अभियानमा लाग्दा पटक–पटक जेल पर्नुभएको थियो। उहाँ विसं २०१५ सालमा गठन भएको पहिलो जननिर्वाचित सरकारमा शिक्षा मन्त्रीसमेत बन्नुभएको थियो।

नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटाको योगदानलाई चिरस्थायी बनाउन उहाँ जन्मिनुभएको काठमाडौंस्थित घरलाई सरकारले संग्रहालयका रूपमा विकास गरेको छ। उहाँका कालजयी सिर्जना र साहित्यिक योगदान आज पनि नेपाली साहित्य तथा समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

You may also like