आज श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै, घरघरमा दीपावली र भैलोको रौनक

by समतल अनलाइन
22Shares

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा तथा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आजै नरक चतुर्दशी, कुकुर तिहार र दीपावलीसमेत परेकाले पर्वको विशेष रौनक छाएको छ।

सफा र सुन्दर घरमा मात्रै लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यताअनुसार आज बिहानैदेखि घरआँगन सरसफाइ तथा लिपपोत गरी सजाउने गरिन्छ। घरका झ्याल, ढोका, चोटा, कोठा, आँगन, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थान सफा गरी साँझ दीप प्रज्वलन गरेर लक्ष्मीको स्वागत गर्ने परम्परा छ।

कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मीपूजाका दिन साँझ आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो तथा अबिरले लक्ष्मीका पाइला बनाउने चलन छ। यसरी बनाइएका पाइलाले देवी लक्ष्मीलाई घरभित्र प्रवेश गर्ने बाटो देखाउने धार्मिक विश्वास रहिआएको छ। बाटोका दुवैतर्फ केराको सुत्ला वा माटाका पालामा दीप बालेर घरलाई झिलिमिली बनाइन्छ।

दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मीको स्थापना गरी गरगहना, नगद, धान, चामल, फलफूल, सेलरोटी तथा फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने प्रचलनसमेत रहेको छ। आजको दिन घरबाट धनसम्पत्ति वा अन्य सामान बाहिर पठाउँदा लक्ष्मी पनि बाहिरिने धार्मिक मान्यता छ।

धर्मशास्त्रविद्हरूका अनुसार लक्ष्मीपूजा सन्ध्याकालमा गरेपछि मध्यरातमा घरका महिलाले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागून् र लक्ष्मी तथा धनधान्यको आगमन होस्’ भन्ने कामना गर्ने परम्परागत विधि रहेको छ।

आज कुकुर तिहार पनि मनाइँदैछ। मानव सभ्यताको विकासक्रमदेखि नै मानिसको नजिकको साथी तथा बफादार र साहसी जनावरका रूपमा परिचित कुकुरलाई वैदिक सनातन धर्ममा विशेष महत्त्व दिइन्छ। यस दिन कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मनपर्ने खानेकुरा खुवाएर पूजा गर्ने गरिन्छ। कुकुरको बफादारी र सुरक्षात्मक भूमिकाको सम्मानस्वरूप यो पर्व मनाउने परम्परा रहेको छ।

लक्ष्मीपूजाको साँझ युवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्न जाने चलन पनि छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुबाट यमपञ्चकका पाँच दिन तीनै लोकको शासन गर्ने वरदान पाएका राजा बलिले आफ्नो राज्यमा सबैको भलो होस् भन्ने कामनासहित घरघरमा गीत गाउन लगाएको सम्झनामा भैलो खेल्ने परम्परा सुरु भएको मानिन्छ। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश हुँदै ‘भैलो’ बनेको जनविश्वास छ।

भैलो खेल्न आउने समूहलाई घरधनीले धान, चामल, फूलमाला, नगद तथा सेलरोटीलगायत सामग्री दिने गर्छन्। कात्तिक महिनामा दान गर्नु पुण्य प्राप्तिको माध्यम हुने धार्मिक विश्वासका कारण भैलो खेल्नेहरूलाई दान दिने परम्परा रहिआएको छ।

लक्ष्मीपूजाको अवसरमा आज देशभरका सहर तथा बजारमा घर, पसल र सार्वजनिक स्थानमा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। कतिपय समुदायमा आफ्नो कुलपरम्पराअनुसार आजै बिहान गाईको पूजा गर्ने चलनसमेत छ। यद्यपि शास्त्रीय मान्यताअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा गर्नुपर्ने उल्लेख छ।

चान्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ। धार्मिक विश्वासअनुसार यस अवधिमा यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने गर्छन्। यही मान्यताका आधारमा तिहारलाई दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक सम्बन्ध, श्रद्धा र सद्भावको पर्वका रूपमा समेत लिइन्छ।

यसरी लक्ष्मीपूजा, कुकुर तिहार, दीपावली र भैलोको संगमले आजको दिनलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले विशेष बनाएको छ।

You may also like