आजको मौसम हल्कादेखि केहि स्थानमा भारी बर्षा

by समतल अनलाइन

काठमाडौं। मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औंल्याएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेको छ :- ‘देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

भोलि (शनिबार) बाट वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । उनका नेपालको पश्चिमतर्फ न्यून चापीय रेखा केही नजिक रहे पनि अन्य स्थानमा यो अहिले औसत स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा छ ।

‘भोलिदेखि यो रेखा औसत स्थानदेखि अलि माथि सर्ने सम्भावना छ भने भारतको बंगालमा न्यून चापीय क्षेत्र पनि विकास हुने सम्भावना छ,’ उनले भने, ‘जसले गर्दा नेपालमा भोलि र पर्सि वर्षाको मात्रा केही बढ्ने अनुमान छ ।’

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

 

 
 
  
 

You may also like