बागलुङमा पहिरोले घर भत्किदा दाजुबहिनीको मृत्यु

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम तमानखोलामा एक घर पुरिदा एकै परिवारका दाजु बहिनीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।सोमबार राती तमानखोला गाउँपालिका–२ खोलेस्वाङगमा गएको पहिरोले घर पुरिँदा एकै घरमा दाजु बहिनीकोे मृत्यु भएको हो । पहिरोले घर पुरिँदा स्थानीय पानबहादुर रसाईलीका १३ बर्षिय छोरा खेमबहादुर रसाईली र ११ वर्षीया छोरी रिता रसाईलीको शव फेला परेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

पहिरोले पानबहादुरकी श्रीमती ३४ बर्षिय होमकुमारी रसाईली घाइते भएकी छन । पानबहादुर भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको अध्यक्ष बुढाले बताए ।रातको समयमा घरमै सुतिरहेको बेलामा आएको पहिरोले दुई बालबालिका पुरिएका थिए भने आमा घाइते अवस्थामा रहेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए । घाइतेको खुट्टामा गम्भीर चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य शाखा संयोजक छन्त्यालले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका वडा नम्बर १, हर्के भन्ने स्थानमा सोमबार राति साढे १ बजेतिर पहिरो खसेर कमल परियारको घर पुर्दा च्यापिएर उनका ३ वर्षीय छोरा समीर परियारको मृत्यु भएको हो।उनकी श्रीमती भने बाँच्न सफल भएकी छन्। कमल पनि वैदेशिक रोजगारीमा छन्। दुवै स्थानमा प्रहरी टोली पुगिसकेको र शव निकालिसकिएको डीएसपी रेग्मीले जानकारी दिए।

 
 
  
 

You may also like