गुल्मीमा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालन गरिने

गुल्मी। गुल्मीमा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालन गरिने भएको छ । शनिबार जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । ल्याब तथा आइसोलेसन संचालनको लागि एक हप्ता अगाडी गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो ।

कार्यदलले जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रस्ताव अनुसारनै महिला विकास कार्यालयमा ल्याब संचालन गर्ने र त्यसको सम्पूर्ण संचालन र व्यावस्थापन गुल्मी अस्पताल मार्फत गर्ने निर्णय भएको श्रीपालीले जानकारी दिए । ल्याब संचालनको लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधी निर्माण गर्ने र सवैसंग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ । श्रीपालीका अनुसार कार्ययोजना अनुसार खरिद प्रक्रियामा कुनै समस्या नभएर समयमै पिसिआर मेसिन आए असार तेस्रो हप्ताबाट ल्याब संचालन गरिने छ ।
त्यस्तै तीनवटै सरकार र निजी क्षेत्रसंगको सहयोगमा रेसुङा नगरपालिकाले व्यावस्थापन गर्ने गरेर आइसोलेसन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका प्रमुख तथा समिति सदस्य भुपाल पोख्रेलले बताए । त्यसको लागि महेन्द्र मावि, रेसुङा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ ।

 
 
  
 

You may also like