पाल्पा रिब्दीकोट–१ ख्याहा रूपन्देही सम्पर्क समाजद्वारा आयोजित क्रिकेट प्रतियोगिताको उपाधि देविनगरलाई

by समतल अनलाइन
34Shares

बुटवल। पाल्पाको कराम्दीमा सम्पन्न ‘स्वर्गीय गीता पाण्डे तथा स्वर्गीय मिनप्रसाद पराजुली स्मृति दोस्रो खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८३’ को उपाधि देविनगर क्रिकेट क्लबले जितेको छ।

विजयादशमी तथा शुभ दीपावली–२०८३ को अवसरमा पाल्पा रिब्दीकोट–१ ख्याहा रूपन्देही सम्पर्क समाजको आयोजनामा कराम्दी खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा अर्जुन जेन्जी क्रिकेट क्लबलाई पराजित गर्दै देविनगरले उपाधि हात पारेको हो।

उपाधिसँगै देविनगर क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता अर्जुन जेन्जी क्रिकेट क्लबले नगद ३१ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा देविनगरका जगत क्षेत्री उत्कृष्ट बलर तथा म्यान अफ द सिरिज घोषित भए। उत्कृष्ट ब्याट्सम्यानको उपाधि अर्जुन जेन्जी क्रिकेट क्लबका पिन्टु साहनीले प्राप्त गरे। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका देविनगरका सागर गैरे म्यान अफ द म्याच घोषित भए।

एक समारोहका बीच विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो। क्लबका संस्थापक अध्यक्ष तुल्सी पराजुली, अध्यक्ष नारायणबहादुर पहराई, महासचिव तथा खेल संयोजक युवराज पराजुली र सहसंयोजक प्रेमप्रकाश पाण्डेले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा गत वर्ष लुम्बिनी स्पोर्ट्स, कपिलवस्तु विजेता बनेको थियो।

You may also like