गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा थप २ जना कोरोना संक्रमित

गुल्मीमा । गुल्मीमा शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना भारतबाट आएको खुलेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका वडा नं ५ का २८ र ३५ बर्षका पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक छत्रबहादुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनीहरु जेठ ९ गते भारतको मुम्बइबाट आएको र उनीहरुलाई सिधै रुरुक्षेत्र गाउँपालिका वडा नं ५ मा निर्माण गरिएको सभाहलको क्वारेन्टाइनमा राखिएको थियो । जेठ २२ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपश्चात उनीहरुको आरडिटी पोजेटिभ देखिएकाले २३ गते नै उनीहरुको स्वाब संकलन गरि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशला भैरहवामा पठाएको र शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको अधिकारीले जानकारी दिए । उनीहरुसंगै आएका अन्य २ जनाको २२ गते नै आरडिटी पोजेटिभ आएकाले होम क्वारेन्टाइनमा बस्न लगाइएको थियो । उनीहरुको कन्ट्रयाक ट्रसिङ को कार्य जारी रहेको अधिकारीले बताए ।
शनिबार कोरोना संक्रमण पुष्टि भएका २ जनालाई रुरुक्षेत्र गाउँपालिकाको आइसोलेसनमा राखेर उपचार गरिने भएको छ । आजै उनीहरुलाई सभाहलको क्वारेन्टाइनबाट आइसोलेसनमा लगिने र त्यही राखेर उपचार गरिने स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिए । उनीहरुमा त्यस्तो कुनै कोरोनाका लक्षणहरु नदेखिएको र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको उनले जानकारी दिए । आज थप भएका २ जना संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ भने २ जना उपचार पछि निको भएर घर फकिएका छन् । २ जनाको रेसुंगा नगरपालिकामा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको छ भने एक जना धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको अबस्था गम्भीर रहेको छ । उनी कसैलाई चिन्न सक्ने अबस्थामा पनि छैनन भने उनको रेसुंगा नगरपालिकाको आइसोलेसनको भुँइमा राखेर उपचार गरिएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । कोरोनाका कारण जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षका शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

 

 
 
  
 

You may also like