कपिलवस्तुको तरकारी प्रहरीको निर्देशनमा अर्घाखाँचीमा नष्ट

सन्धिखर्क । कपिलबस्तुको बुद्धभुमीबाट बिक्रिका लागि अर्घाखाचीको सन्धीखर्क लगिएको हरियो तरकारी प्रहरीको निर्देशनमा नष्ट गरिएको छ ।
कोरोना संक्रमित जिल्लाबाट ल्याईएको भन्दै अर्घाखांचीको सन्धिखर्कमा कपिलबस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको हो ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ मा बिगत लामो समयदेखि खाद्यान्न, तरकारी र फलफूल विक्री गर्दै आइरहेको पुष्पा स्टोरका सन्चालक किशोर बांनियाले तरकारी लगेका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश विष्टको निर्देशनमा भएको उक्त कार्यप्रति किसानहरुले भने आपत्ती जनाएका छन् ।
बानियाँले लकडाउनका कारण जिल्लामा हरियो तरकारी अभाव भएपछि कपिलवस्तुबाट बोडि, करेला, लौका, घिरौला, भिण्डी, टमाटर, खुर्सानी लगायतका हरियो तरकारी विक्रीको लागि लगेका थिए । ,
अर्घाखांची प्रशासनले जिल्लामा यस अघि गरीएको निर्णय बिपरीत तरकारी ल्याइएको र हरियो तरकारीबाट कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरी टोलीले सन्धिखर्क स्थीत डम्पिङ साइडमा लगेर नष्ट गरेको हो ।
प्रहरी नायब उपरिक्षक विष्टले जिल्ला स्थीत व्यापारिक संघसंस्थाहरुको उपस्थितीमा कोरोना संक्रमणको बेला कुनैपनि जिल्लाबाट तरकारी तथा फलफुल आयात नगर्ने निर्णय गरेकोले सोहि अनुरुप नष्ट गरिएको बताए ।
कोरोना संक्रमणको नियन्त्रणको लागि भन्दै अर्घाखांचीले यसअघि छिमेकी जिल्लाका सिमानाकाहरु सिल गर्दै आएको थियो । तर जिल्लामा संचालित अन्य खाद्यवस्तु तथा बिकास निर्माणमा प्रयोग हुने सामाग्री भने निर्वाध रुपमा भित्राउंदै आएको छ ।

जिल्लाका सवै तरकारी ब्यापारीले कपिलबस्तुबाट ल्याएर बेच्छन तर मेरो मात्रै फ्याकियो ब्यापारी किशोर बांनियाले भने । अर्घाखांचीका सवै तरकारी ब्यापारीले पनि रासनको ट्रकमा लुकाएर कपिलबस्तुबाट तरकारी ल्याउछन उनले खुलाए ।

तराईका जिल्लामा उत्पादित अन्य खाद्यवस्तु आयात गर्दै जिल्लावाशीको माग पुरा गर्दै आएको अर्घाखांचीमा छिमेकी जिल्ला कपिलवस्तुका किसानले उत्पादन गरेको हरियो तरकारी यसरी नष्ट गर्नु गैरजिम्मेवार पूर्ण कार्य भएको कपिलवस्तुका जनप्रतिनिधिहरु बताउंछन् ।
कपिलवस्तुबाट प्रदेशसभा निर्वाचित विष्णु पन्थीले संकटको बेला किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उत्पादन यसरी नष्ट गर्नु गलत भएको बताए । उनले छिमेकी मुलुक भारतबाट लुकिछिपी सामान भित्रयाईरहंदा टुलुटुलु हेरेर बस्ने प्रहरी प्रशासनले नेपाली किसानको उत्पादन नष्ट गरेको कार्यप्रति आपत्ती जनाए ।
अर्घाखांचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले अहिले कोरोना नियन्त्रणका लागि बाहिरको उत्पादन ल्याउन रोक लगाएको कारण नष्ट गरिएको हुनसक्ने बताए । लकडाउनको बेला जिल्लाभित्रै पनि तरकारी तथा फलफुलहरु प्रशस्त उत्पादन भएको समेत उनले बताए ।

 
 
  
 

You may also like