जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द

काठमाडौं। जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि लम्ब्याएको सरकारले जेठ १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार  बसेका मन्त्रिपरिषद्को बैठकले चीन बाहेक अन्य देशमा कोरोनाको महामारी नियन्त्रण आइनसकेको र तत्काल उडान सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

विदेशबाट आउनेहरुका कारण नेपालमा कोरोनाको थप जोखिम हुन सक्ने भएकाले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

्यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनहुजसो बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो । सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो ।

पछिल्लो समय नेपालगञ्जलगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवघि थप गरेको हो । लकडाउन थप गरे पनि सरकारले कम प्रभावित क्षेत्रमा केही खुकुलो हुनेगरी लकडाउनको मोडालिटी तय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन । हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिइसकेको छ ।

 
 
  
 

You may also like