पैदलै सुदूरपश्चिम हिडेका मजदुरलाई बुटवलबाट बसमा पठाइयो

बुटवल । कोरोना भाइरस कोभिड–१९० को संक्रमण रोक्न मुलुकमा जारी लकडाउनका समयमा सुदूरपश्चिम घर भएका मजदुरहरु पैदलै–पैदल गन्तव्यमा हिडिरहेकाबेला बुटवलबाट जनप्रतिनिधीको अगुवाईमा बसमा पठाइएको छ । नेपालको पूर्वी तथा मध्य भेगका जिल्लाहमा विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका मजदुरहरु ति जिल्लाबाट केहीदिन हिडेर नै बुटवलसम्म आएका थिए । सोमबार मात्रै एक सय २० मजदूर विभिन्न जिल्लाहरुबाट बुटवल आएका थिए । उनिहरुमध्य कोही ११ दिनलगाएर पैदल नै बुटवल आएका थिए ।

उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँड्दा बुटवल आइपुगेका थिए ।

बुटवल आईपुगेका मजदूरलाई यहाँका जनप्रतिनिधिले उद्धार गरेका छन् । मजदूरलाई सोमबार साँझ खाना खुवाएर जनप्रतिनीधीले उनिहरुको गन्तव्यसम्म पु¥याईदिएका छन् ।

बुटवल आएर थकान मेटीरहेका मजदूरलाई बुटवल उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष महेन्द्र लिगलको सक्रियातामा खाना खुवाईएको र त्यहाँबाट डिलक्स बसको व्यवस्था गरि सबै मजदूरहरुलाई घरसम्म पठाईएको थियो । घर पठाउनु अघि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष लिगलले जानकारी दिए ।

वडाध्यक्षलगायत त्यहाँका स्थानियले बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाएका थिए ।
पैदल आएका मजदूर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौं, काभ्रेपलाञ्चोक र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए ।

लामो समयदेखि पैदल हिँडेको, कैयौँ दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि आफूहरुले खाना खुवाएको र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीको सहयोगमा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए ।
बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनी साथीहरुसँगै सोलुखुम्बुबाट हिँडेर आएका थिए । काठमाडौंबाट हिँडेर आएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताए ।

मजदूरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै र्पुयाउने ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताए ।

 
 
  
 

You may also like