निश्चित भइसकेका अप्रेसन रोकिए, ट्युमर बोकेर घरमा छटपटाउँदै क्यान्सरका बिरामी

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका– ९ की ६२ वर्षीया जुक्ति पासमानलाई खाना नरुच्ने र हातखुट्टाका हड्डी दुख्ने समस्या भएपछि परिवारले गत माघमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुर्‍याएको थियो । अस्पतालले त्यतिवेलै उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि गर्‍यो ।

दलित तथा विपन्न परिवार भएकाले पैसा खर्च गरेर औषधि–उपचार गराउन सम्भव थिएन । राज्यको सहयोग लिनुपर्ने भयो । अस्पतालले नगरपालिकाबाट सिफारिस लिएर आउनु भन्दै एक महिनाको औषधि लेखिदिएर घर पठाइ दियो ।

नेपालको सरकारी काम न हो, नगरपालिकाबाट सिफारिस बनाउन ढिला भयो । चिट्ठी बनेपछि अस्पताल आउने भन्दाभन्दै देश लकडाउन भयो । लकडाउनकै कारण परिवारले जुक्तिलाई अस्पताल ल्याउन सकेको छैन । एउटी वृद्धा नागरिक लकडाउनकै कारण क्यान्सरको पीडा खेपेर मृत्युुसँग लडिरहनुपरेको छ ।

‘नगरपालिकाले दिएको चिट्ठी हातमा छ । तर, बन्दले गर्दा आमालाई अस्पताल लान सकिएको छैन । अहिले ओपिडी पनि बन्द छ अरे, लगेर पनि उपचार हुँदैन,’ छोरा विनोदले भने, ‘एक महिनाका लागि खान दिएको औषधि पनि सकियो । आमालाई धेरै पीडा भइरहेको छ । हेरेर आँशु बगाउनुको विकल्प छैन ।’
०००
जुक्तिका भाइ ५५ वर्षीय शोभित पासमानलाई पनि खुट्टामा क्यान्सर छ । उनलाई पनि दिदीसँगै अस्पतालमा जाँदा डाक्टरले क्यान्सर पुष्टि गरेका थिए । सुरुमा उनलाई चिकित्सकले ७ चैतमा शल्यक्रिया गर्ने समय दिएका थिए ।

तर, अन्तिम अवस्थामा दुई सातापछि आउन भने । तर, लकडाउनले उनी अस्पताल जान पाएका छैनन् । समयमा उपचार नहुँदा अहिले शोभितको खुट्टाको घाउ बढेर हिँडडुल गर्नै समस्या भएको छ ।
०००
सिराहाको अर्नामा गाउँपालिका– ५ कृष्णपुरका ४६ वर्षीय रामकुमार यादव पनि काखीमा ट्युमर बढेपछि १५ फागुनमा भरतपुर क्यान्सर अस्पताल पुगेका थिए । चिकित्सकले लिम्फोनोड ट्युमर भएको र शल्यक्रिया गर्नुपर्ने बताए ।

डाक्टरले ९ चैतमा भर्ना भएर १० चैतमा शल्यक्रिया गर्ने निश्चित गरेका थिए । यादव डाक्टरले भनेअनुसार सबै प्रक्रिया पूरा गरेर ८ चैतमा अस्पताल पुगे । तर, कोरोना भाइरसका कारण शल्यक्रिया नहुने भन्दै फिर्ता पठाइ दिए ।

हुनै आँटेको शल्यक्रिया पनि रोकिएपछि यादव निराश भएर घर फर्किए । अहिले दुखाइ सहन गाह्रो भएको उनले बताए । ‘मैले शल्यक्रिया गरिदिनुस् भनेर कति आग्रह गरें, तर उहाँहरूले मान्नु भएन,’ यादवले भने, ‘अहिले टुयुमर बढेर घाँटीमुनि पनि देखिन थालेको छ । दुखाइ खप्न नसकेर अहिले इन्जेक्सनबाट मर्फिन लिंदै आएको छु ।’ नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like