भिटामिन ‘ए’ नेपालमै उत्पादन हुने, क्यूरेक्सको हरेक साता नयाँ उत्पादन बजारमा

काठमाडौं । नेपाललाई आवश्कय पर्ने भिटामिन अब नेपालमै उत्पादन हुने भएको छ । काभ्रेको बनेपामा अवस्थित क्यूरेक्स फर्मास्यूटिकल्सले नेपाललाई आवश्यक पर्ने भिटामिन ‘ए’ उत्पादन गर्न लागेको हो । अबको ४ महिनामा नेपाललाई आवश्यक पर्ने उक्त औषधि उत्पादन गर्न लागिएको क्यूरेक्स फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक सुशिल मित्तलले आर्थिकन्युजलाई बताए ।

हरेक साता एक नयाँ उत्पादन गर्दै आएको क्यूरेक्सले स्वदेशमै भिटामिन ‘ए’ उत्पादन गर्ने योजना सहित मेशिन जडान गर्न लागेको हो । ‘हामी नेपाललाई आवश्यक पर्ने भिटामिन ‘ए’ उत्पादन गर्ने तयारीमा जुटेका छौं,’ उनले भने ‘अबको ३/४ महिनामा उत्पादन शुरु हुन्छ ।’ यसका लागि आवश्यक मेशिन ल्याइसकिएको छ ।’नेपालमा भिटामिन ‘ए’ उत्पादन हुन थालेपछि नेपाली औषधि उत्पादनमा नयाँ आयाम थपिने भएको छ । मित्तलका अनुसार भिटामिन ‘ए’ उत्पादन गर्ने मेशिन कोरियाबाट ल्याइएको हो । ५ करोड रुपैयाँ खर्च गरेर क्यूरेक्सले कोरियन मेशिन नेपाल भित्र्याएको हो ।

उक्त मेशिनबाट दैनिक ८ लाख भिटामिन ‘ए’ को क्याप्सुल उत्पादन प्रवन्ध निर्देशक मित्तलले बताए । उत्पादन शुरु भएपछि नेपालले विदेशबाट भिटामिन ल्याउनु पर्ने हुँदैन । हाल नेपालमा वार्षिक २ करोड भिटामिन ‘ए’ क्याप्सल खपत हुने गरेको छ । अहिलेसम्म सरकारले विदेशबाट आयात गरेर उक्त औषधि निःशुल्क वितरण गर्दै आएको छ । नेपालमा खपत हुने एन्टिवायोटिक्समध्य धेरै एन्टिवायोटिक्स क्यूरेक्स फर्मास्यूटिकल्सले उत्पादन कम्पनी गर्दछ । क्यूरेक्सले सरकारलाई वार्षिक करिब २८ करोड चक्की ‘आइरन’ समेत उपलब्ध गराउँदै आएको छ । क्यूरेक्स फर्मास्यूटिकल्समा हालसम्म करिब दुई अर्बसम्म लगानी भइसकेको छ ।

लकडाउनको समयमा पनि क्यूरेक्स फर्मास्यूटिकल्सले मेचीदेखि महाकालीसम्म औषधि पुर्याएर सेवा गरिरहेको छ । कम्पनीमा हाल ५ सय जनाले रोजगारी पाइरहेका छन् । कोरोना भाइरस महामारीको यो विषम परिस्थितिमा क्यूरेक्स फर्मास्यूटिकल्सले देशका विभिन्न स्थानमा औषधि ढुवानीका लागि गाडी सहितको टिम राखेको समेत उनले बताए ।

विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विश्वभरी नै औषधिको अभाव भइरहेको बेलामा पनि नेपालमा भने करिब २ महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ रहेको उनले बताए । औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ भारत, थाइल्याण्ड र चीन लगायतका विभिन्न बन्दरगाहहरुमा अड्किएकाले नेपाल ल्याउने वातावरण मिलाइदिन सरकारसँग उनले माग गरेका छन्

 
 
  
 

You may also like