कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म भत्ता

काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ ।

त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।

त्यस्तै, संक्रमणको उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा गठित कोभिड– १९ द्रुत सम्भाव्यता अध्ययन कार्यदलले सोमबार २० वटा आइसियू बेड सञ्चालनका लागि एक सय ५६ स्वास्थ्यकर्मी आवश्यक हुने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ । ४० बेड आइसियू सञ्चालन हुने अस्पतालमा तीन सय १२ स्वास्थ्यकर्मी खटिने छन् । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like