कोरोनाको पूर्वतयारीका लागि बुटवलका अस्पतालमा आइसोलेसन बेड थपिदै

बुटवल । कोरोना भाइरस प्रकोपको पूर्वतयारीका लागि बुटवलका अस्पतालहरुमा आइसोलेसन बेड थपिदै गएका छन् । बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारको पहलमा बुटवलका आधा दर्जन अस्पतालहरुमा २७ वटा आइसोलसन बेडको व्यवस्थापन भएका हुन् ।

बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार मेडिटेक अस्पतालमा ६ बेड, मर्सिसिटी अस्पतालमा २ बेड, लुम्बिनी सिटी अस्पतालमा ४ बेड, सिद्दबाबा अस्पतालमा ५ बेड, तिनाउ इन्टरनेशनल अस्पतालमा ८ बेड आइसोलेसनका लागि छुट्याइएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलका सबै अस्पतालहरुमा पत्राचार गरी यो व्यवस्था गरेको हो । ति अस्पतालहरुले आइसोलेसन बेडको व्यवस्था गरी फोकल पर्सन समेत तोकेको उपमहानगरका जनस्वास्थ्य शाखाका अधिकृत यमलाल भुसालले जानकारी दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा यस अघि नै प्रदेश सरकारको निर्देशनपछि २ वटा आइसोलेसन बेडको व्यवस्था भइसकेको छ ।

अरु अस्पतालहरुले पनि आइसोलेसन बेडको तयारी गरी जानकारी गराउने सूचना गरेको नगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवल उपमहानगरले वडा मार्फत कोरोनाको बिषयमा सचेतनामूलक पम्पलेट वितरण गर्नुका साथै ठाउँ ठाउँमा व्यानरहरु राखिएको जनाएको छ । त्यसैगरी उपमहानगरले आफ्ना कर्मचारीहरुलाई कोरोनाको बिषयमा अभिमुखिकरण गरिसकेको छ ।

 
 
  
 

You may also like