कोरोना भाइरसः के आयुर्वेदिक पद्धतिबाट उपचार सम्भव छ ?

एजेन्सी— विश्व स्वास्थ्य संगठनले विश्वकै महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ४ हजार मानिसको मृत्यु भइसकेको छ । तर, कोरोना भाइरस संक्रमणको औषधि अहिलेसम्म पत्ता लगाउन सकिएको छ ।

औषधि पत्ता लगाउन नसकिए पनि नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले फेसबुक, ट्विटरजस्ता माध्यमहरुमा अनेक उपायबाट कोरोना भाइरस उपचार सम्भव भएको भन्दै लेखिएका केही पोस्टहरु भेटिन्छन् ।

नेपालमा भन्दा धेरै यस्ता पोस्टहरु भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताहरुले फैलाइरहेका छन् । त्यसैले त्यहाँ सामाजिक सन्जालमा आयुर्वेदिक पद्दतिबाट उपचार सम्भव भएको भन्ने पोस्टहरु निकै धेरै गरिएको बिबिसीको हिन्दी संस्करणले उल्लेख गरेको छ । तर, भारतमा वैकल्पिक उपचारको पद्धति तथा औषधिलाई बढावा दिने सरकारी अधिकारी तथा मन्त्रालयहरुले आफूहरुले कोरोना भाइरस वैकल्पिक तरिकाबाट उपचार गर्न सकिने भन्नेबारे कहिल्यै उल्लेख नगरेको बताएका छन् ।

तर, भारतमा यसबारे सन्देश लगातार फैलिइरहेको छ । जसमा दाबी गरिएको छ कि कोरोना भाइरसबाट छुटकारा पाउन वैकल्पिक औषधि उपयोगी हुन थालेका छन् ।

बरु यसो हुनुको कारण चाहिँ त्यही भारतीय मन्त्रालय आयुषले २९ जनवरीमा सार्वजनिक गरेको एउटा प्रेस विज्ञप्ति हो जसमा लेखिएको थियो– कोरोना भाइरस संक्रमणको लक्षण रोक्नका लागि होमियोप्याथी चिकित्सा उपयोगी हुन्छ । त्यो प्रेस विज्ञप्तिमा आर्सेनिकम एल्बम ३० दबाई खान पनि सल्लाह दिइएको थियो ।

होमियोप्याथिक सिद्धान्तअनुसार यदि अत्यधिक पानीसँग केही पनि खानेकुरा पेटमा पुग्दा त्यसले मानिसको मेमोरीलाई शरीरको रोग प्रतिरक्षा प्रक्रिया सुरु गर्न सहयोग गर्छ । भारतको मन्त्रालयले निकालेको यो प्रेस विज्ञप्तिमा यही कुरा उल्लेख गरिएको थियो ।

तर, अहिले आएर भारतीय मन्त्रालयले आफ्नो विज्ञप्तिलाई सच्चाएको छ । उसले आफूहरुले सामान्य रुपमा त्यसलाई अगाडि ल्याएको तर त्यसले नै कोरोना ठिक पार्ने दाबी नगरिएको बताएको छ ।

अर्कोतिर, यस्तो पद्धतिबाट अहिलेसम्म यो रोग ठिक हुने कुनै वैज्ञानिक आधार भेटिएको छैन । त्यसैले पनि कोरोनालाई वैकल्पिक उपचार विधिबाट ठिक गर्न सकिन्छ भनेर गरिएको प्रचार भ्रममात्र हो ।

 
 
  
 

You may also like