प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, डाक्टरले भने, ‘मुटु साँच्चै बलियो रहेछ’ 

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।

महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

उपचारमा संलग्न डा. अरुण सायमीले भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनु भएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’

चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा. सायमीले भने । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like