अन्तरजातीय विवाह गरेकी युवतीको जबरजस्ती गर्भपतन

by समतल अनलाइन

पाँचथर । पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबरजस्ती गर्भपतन गरिएको छ । कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गरिएको हो ।

यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन् । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबरजस्ती गर्भपतन गराएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन् । त्यतिवेला काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गराएर चेम्जोङ गायब भएका हुन् ।

‘म काठमाडौं गएकी थिएँ । फर्केर आउँदा त २३ माघदेखिकै जिम्मेवारी मलाई दिइएको रहेछ,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘अध्यक्षले घरायसी कामका लागि बाहिर रहेको व्यहोरा उल्लेख गर्नुभएको छ ।’ पीडित युवतीका श्रीमान् रमेश र अन्य दुईजना पनि फरार छन् । आरोपी तीन जनालाई भने नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले हत्या गरिएको भ्रुण पनि बरामद गरिसकेको छ । २४ पुसको राति जिल्लाको समर्पित हस्पिटलमा भ्रुणहत्या गरिएको युवतीले जाहेरीमै उल्लेख गरेकी थिइन् । लगत्तै प्रहरीले सर्च गर्दा अस्पताल परिसरमै प्लास्टिकमा पोको पारिएको अवस्थामा भ्रुण फेला पारेको थियो ।

२१ हप्ता भइसकेको भ्रुण जबरजस्ती हत्या गरिएको युवतीको भनाइ छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गर्न सक्ने व्यवस्था छ । त्यस्तै, गर्भवतीको मानसिक र शारीरिक अवस्थामा खतरा हुन सक्ने तथा विकलांग बच्चा जन्मिने अवस्था भए इजाजतप्राप्त चिकित्सकको रायपछि गर्भवतीकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ फाल्न सक्ने व्यवस्था पनि गरेको छ ।

प्रहरीले भ्रुणको सम्पूर्ण अवस्था परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । परीक्षणपछि मात्रै भ्रुण कति हप्ताको थियो भन्ने यकिन हुने पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले बताए ।

आमा (एकल महिला) सँग बस्ने सीताको सुरुमा रमेशसँग प्रेम थियो । प्रेमपछि उनीहरूले विवाह गरेका थिए । तर, रमेशको हकमा यो दोस्रो विवाह थियो । घरमा अर्की श्रीमती थिइन् । दोस्रो, त्यसमा पनि अन्तरजातीय विवाह खड्का परिवारलाई चित्त बुझेको थिएन । युवती गर्भवती हुनु रमेशकोे परिवारका लागि झन् टाउको दुखाइ बन्यो । त्यसपछि जघन्य अपराधको बाटो रोजे ।

पीडित अहिले अल्पकालीन आश्रयसहितको घरेलु हिंसा सेवा केन्द्रमा छिन् । धरानमा लगेर उनको स्वास्थ्य परीक्षण गरिसकिएको छ । उजुरीपछि नै स्वास्थ्य परीक्षण गरिएको हो । घटनामा संलग्नहरू कोही नछुटून् भनेर आफूहरूले सहयोग गरिरहेको सेवा केन्द्र सदस्य सकुन्तला ओलीले बताइन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like