सानेपा हत्या प्रकरण : महिला कामदार, ड्राइभर र प्लम्बरसँग लियो प्रहरीले बयान

by समतल अनलाइन

महिला कामदारले भनिन्, ‘रिसाहा थिए विजय’
काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीन जनासँग बयान लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो । ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् ।

परिसरका एसपी दुर्गा सिंहले घटनाको अनुसन्धानका क्रममा तीन जनासँग बयान लिएको बताइन् । ‘कार्की निवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृतक कार्कीले पनि विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’

उनीहरूले हत्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीन जनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन् ।

दुवैको मोबाइल फरेन्सिक ल्याबमा
घटनाको कारण पहिल्याउन प्रहरीले हत्या भएकी कार्की र हत्यापछि आत्महत्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ ।

‘घटना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ ।
त्यसैले, घटनाअघि र घटनापछि घटनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ । कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डिलेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन ।’

दुवै परिवारले शव बुझे, घटनाको निष्पक्ष छानबिन गर्न जाहेरी
दुवै मृतकको शव परिवारले बुझेका छन् । बुधबार कार्की र चौधरी परिवारले शव बुझेको प्रहरीले जनाएको छ । त्यस्तै, कार्कीका श्रीमान् अर्जुन र चौधरीका बुबा जानकीले घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीमा छुट्टाछुट्टै जाहेरी दिएका छन् । ‘सद्गतका लागि दुवै परिवारले शव बुझेका छन्, घटना अनुसन्धानका लागि दुवै पक्षबाट जाहेरी पनि परेको छ,’ परिसर प्रमुख एसएसपी राईले भने ।

सोमबार सानेपास्थित कार्कीनिवासमै कार्की र चौधरी मृत भेटिएका थिए । निवासमा भएका सिसिक्यामेरा फुटेज हेरेपछि प्रहरीले कार्कीको हत्या घरेलु मजदुर चौधरीले नै गरेको पुष्टि गरेको छ । हत्यापछि चौधरीले आत्महत्या गरेको प्रहरी निष्कर्ष छ । तर, हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like