महिना दिनदेखि किशोरी वेपत्ता, पीडामा परिवार

by समतल अनलाइन

गलकोट। बागलुङको गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङ बजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।

सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्दै थिइन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । ‘पुस २९ गते साँझ ६ः३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा आएकी छैन’, आमा मनकुमारीले भनिन् ।

सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताइन् । प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ । अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन् । उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ । दुवै परिवारले एक अर्काप्रति आशङ्का गरेका छन् । दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

 
 
  
 

You may also like