साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगेको भेटियो

by समतल अनलाइन

सर्लाही। सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ ।

अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सात जनाको मात्रै उजुरी परेको छ । पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

तर, २२ दिन लामो अनुसन्धानपछि प्रहरीले दुवैको मुद्दा भने तीन दिनभित्रै अदालतमा दर्ता गर्ने तयारी गरेको छ । ‘साहुकार रायले मात्रै २८ जनासँग २० करोड ठगी गरेको भेटिएको छ । तर, रौनियारविरुद्ध सातजनाको मात्रै उजुरी परेको छ ।

उनी फरार रहेकाले डराएर उजुरी कम आएको हुन सक्छ, उनको हकमा अझै अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलले भने । सोमबारसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए ।

साहुकारले ऋण दिँदा धितो राखेको ऋणीको जग्गा रजिस्ट्रेसन नै पास गरेर हडपेका छन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि २३ पुसमा प्रहरीले सर्लाहीकै हरिपुरबाट रायलाई पक्राउ गरेको थियो । भेष बदलेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी हिरासतमा छन् । फरार रौनियार विहारको सीतामढीमा लुकेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए ।

२३ पीडितले रामबाबु र सञ्जयविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि हाले मुद्दा
साहुकार राय र रौनियरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा अस्वाभाविक सम्पत्ति जम्मा गरेको देखिएपछि विभागले अनुसन्धान थालेको हो ।

ठगिएका २३ जनाले उनीहरूको सम्पत्ति छानबिनका लागि जाहेरी दिएका थिए ।
‘साहुकार राय र रौनियारविरुद्ध जाहेरी आएका छन् । प्रहरी अनुसन्धानमा पनि उनीहरूको सम्पत्ति अस्वाभाविक देखिएको छ,’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धान सुरु भएको छ सम्पत्ति शुद्धीकरण विभाग स्रोतले राय र रौनियरविरुद्ध अनुसन्धान सुरु भएको जानकारी दियो । स्रोतले भन्यो, ‘साहुकार राय र रौनियरविरुद्ध जाहेरी आएका छन् । तर, मुद्दा संवेदनशील भएकाले अहिल्यै थप नबोलौं ।’ नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like