कोरोना भाइरस : वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई बल्ल पठायो पत्र

by समतल अनलाइन

काठमाडौं। सरकारले नोवल कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिनेछ ।

मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको जानकारी दिए । ‘विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्थितिलाई लिएर विश्वव्यापी संकटकाल घोषणा गरेपछि थप तदारुकतासाथ नेपाली विद्यार्थी फिर्ता गर्ने पहलमा हामी जुटेका छौं,’ उनले भने, ‘हाम्रो तयारीको स्थिति दर्शाएर परराष्ट्रमार्फत चीन सरकारलाई पत्र लेखेका हौं ।’

गम्भीर संक्रमणको सम्भावना रहेका बेला विद्यार्थी फिर्ता ल्याएर तत्काल आइसोलेसनमा राख्न नसके थप खतरा बढ्ने भएकाले सरकारले प्राथमिकतामा राखेर घरफिर्तीको समन्वय गरिरहेको उनले बताए ।

आइसोलेसनमा राख्नका लागि सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताल लगायत स्थानबारे मूल्यांकन भइरहेको छ ।

बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालका अनुसार वुहानसहित जिङझोउ, इन्सी र सियान सहरमा भाइरस संक्रमितको संख्या बढ्दो रहेकाले चिन्ता चुलिइरहेको छ । यी सहरका विश्वविद्यालयमा रहेका मध्ये सम्पर्कमा आएका १७७ विद्यार्थी संक्रमणबाट सुरक्षित भए पनि हरक्षण ‘मनोवैज्ञानिक सन्त्रास’ झेल्न बाध्य बनेको लम्सालले बताए ।

दूतावासले वी च्याटमा समूह बनाएर विद्यार्थीसँग नियमित परामर्श र कुराकानी गरिरहेको छ । जतिसक्दो चाँडो यहाँबाट निस्कन पाए संक्रमणबाट जोगिन सक्ने भन्दै विद्यार्थीले घरफिर्तीका लागि अनुरोध गर्न थालेको लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार विद्यार्थीलाई घर फिर्ता गर्ने अवस्थामा सुरुमै संक्रमणको अवस्था परीक्षण गर्नुपर्ने र घर फिर्ता गरेर पनि कम्तीमा १४ दिन सुरक्षित ‘आइसोलेसन’ मा राख्नुपर्ने अनिवार्य सर्त चीन सरकारले तोकेको छ । पाकिस्तानले भने चीनमै सेवा, सुरक्षा र उपचार प्रबन्ध विश्वासिलो भएकाले तत्काल विद्यार्थी फिर्ता नलैजाने भनिसकेको छ ।

चीनका सहरमा श्रमस्वीकृति लिएर काम गरिरहेका नेपालीको स्थितिबारे भने दूतावासमा जानकारी आइनसकेको लम्सालले बताए । उनले संक्रमणको बढ्दो अवस्थाका आधारमा नेपाली विद्यार्थी सुरक्षित रहेको बताए । ‘तर स्थिति खतरामुक्त भने छैन । तनाव र सन्त्रासका कारण स्थिति निकै असहज बनेको छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री–चिनियाँ राजदूतबीच छलफल
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार चिनियाँ राजदूत होउ यान्छीसँग चीनमा रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालका अनुसार छलफलमा राजदूत होउले आफूहरू संक्रमण नियन्त्रणप्रति गम्भीरतासाथ लागिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा र सुविधाका लागि काम गरिरहेको बताइन् ।

कांग्रेसको पनि आग्रह कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन माग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले उच्च जोखिममा रहेका नेपाली विद्यार्थी र नागरिकलाई फर्काउन सरकारले चासो नदिएको भन्दै आपत्ति समेत जनाएका छन् । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like