काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गुठी संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध आठ लाख रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मिलेमतोमा गुठीको जग्गा गुठीमै दर्ता गरिदिने बहानामा आठ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । काठमाडौं महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाका बारेमा गुठीको जग्गा गुठीमै कायम गरिदिने भन्दै उनीहरूले घुस लिएका थिए । घुस लिएको आरोपमा आयोगले दुवै जनालाई गत १ पुसमा पक्राउ गरेको थियो ।
चौधरी र रेग्मीले घुस लिएको सम्बन्धमा अख्तियारमा उजुरी परेपछि बैंक खातामै जम्मा गरेर घुस रकम फिर्ता गरेका थिए । अख्तियारको अनुसन्धानले यसलाई पुष्टि समेत गरेको छ । बैंकको सिसिटिभी फुटेजमार्फत समेत यसलाई पुष्टि गरेको हो । घुस फिर्ता लिन बोलाउँदा घुस दिने व्यक्ति नआएपछि बैंक खातामा जम्मा गरिदिएका थिए ।
संस्थानका प्रशासक चौधरी तेस्रो पटक अख्तियारको फन्दामा परेका हुन् । यसअघि विराटनगरस्थित ९ नम्बर नापी गोश्वाराको प्रमुख हुँदा सरकारी जग्गा हिनामिना काण्डमा उनलाई अख्तियारले निलम्बन समेत गरेको थियो ।
त्यस्तै, सुकुम्बासी समस्या समाधान आयोगको सदस्य–सचिव हुँदा मोरङको साविक बडहरी गाविस–९ को दुई कट्ठा जग्गा सालो र जतुवा–१ को दुई कट्ठा जग्गा भाइका नाममा दर्ता गराएपछि पनि उनीमाथि अख्तियारले छानबिन गरेको थियो । भूमिसुधार मन्त्रालय तथा त्यसअन्तर्गतको नापी कार्यालयहरूमा कार्यरत रहँदा झा अनेकौं विवादमा मुछिएका थिए ।
अदालतबाट छुटेपछि पुनः भ्रष्टाचारमा
भ्रष्टाचारमा अख्तियारले पक्राउ गरेका तथा कतिपय अवस्थामा मुद्दासमेत दायर भइसकेकाहरू पुनः भ्रष्टाचारमै मुछिएका उदाहरण यसअघि पनि देखिएका थिए । जग्गा धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेपछि पक्राउ परेका मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएपछि फेरि भ्रष्टाचारमा परेका थिए ।
कीर्ते मुद्दामा जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि पुरानै कार्यालयमा फर्किएका श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै गत २३ जेठमा पक्राउ परेका थिए । नयाँ पत्रिकाबाट