कोरोनाको आशंकामा थप तीन नेपाली अस्पतालमा

by समतल अनलाइन

काठमाडौं । चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीन जनामा त्यसको आशंका गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । कोरोनाकै आशंकामा अर्का एक जना निजी अस्पतालमा भर्ना भएका छन् । उनीहरूको नाम खुलाइएको छैन ।

रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एक जना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

‘नेपालमा चिनियाँ पर्यटकभन्दा पनि विविध कामले चीनमा गई फर्कने नेपालीबाट बढी जोखिम हुन सक्छ ।’ कोरोना भाइरसको आशंकामा भर्ना हुने बिरामीको संख्या बढ्न थालेपिछ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आपतकालीन बैठक राखेको एक उच्च अधिकारीले बताए । बैठकले मन्त्रालयका अधिकारी र अस्पतालका चिकित्सकलाई मिडियासँग जथाभावी नबोल्न निर्देशन समेत दिएको ती अधिकारीको भनाइ छ ।

‘यस विषयमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक लाललाई मात्र बोल्नू भन्ने उर्दी छ,’ ती अधिकारीले भने, ‘ती दुई बाहेक अन्यले कोरोना भाइरससँग सम्बन्धित विषयमा बोले कारबाही गर्ने चेतावनी दिँदै स्वास्थ्य सचिव खगराज बरालले सर्कुलर जारी गरेका छन् ।’ नागरिक दैनिकबाट

 
 
  
 

You may also like