विकासले सम्पदा मास्यो, तराई र काठमाडौंमा अन्न रित्तिइसक्यो : पूर्व राष्ट्रपति यादव

by समतल अनलाइन

भक्तपुर। पूर्व राष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको बताएका छन् ।

भक्तपुरको कमलविनायकमा रहेको भोकेशनल एकेडेमीमा शनिबार ‘रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशन’ को १० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडा समेत नासिँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले भने, ‘अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौं उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारामा पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था आउँला, त्यही सम्झेर चिन्ता लाग्छ ।’

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पुर्‍याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनु पर्नेमा विशेष जोड दिए ।

परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिँदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूला–ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिए जस्तै भएको उनले टिप्पणी गरे ।

नेपालका लागि जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पुर्‍याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए । शिक्षाविद् केदारभक्त माथेमाले ‘सीपमूलक शिक्षा आजको आवश्यकता’ भएको बताउँदै सरकारले शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताए । उनले आफ्नो जीवनमा चलअचल ४० करोड रुपैयाँ सम्पत्ति रहेकामा २० करोड रुपैयाँ फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालिम प्रदान गर्ने जानकारी दिए ।

संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै ‘रेड मुन’ नामक पत्रिकाको विमोचन गरिएको थियो ।

 
 
  
 

You may also like