चितवन मेडिकल कलेजमा आन्दोलन जारी : कलेजले विद्यार्थीसँग वार्तामा बस्न मानेन

by समतल अनलाइन

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) को व्यवस्थापन पक्ष अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीसँग वार्तामा बस्न नचाहेको पाइएको छ । कलेजका निर्देशक सञ्चालक हरीशचन्द्र न्यौपाने आठ वटै फ्याकल्टीका विद्यार्थीसँग वार्तामा बस्न नचाहेपछि विद्यार्थीले आन्दोलनलाई जारी राख्ने भएका छन् ।

एमबिबिएस अध्ययनरत विद्यार्थी मान्यता थापाले आठ वटा संकाय र शुल्क निर्धारण भएपछिको चार वर्षकै शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइन् । प्रबन्ध निर्देशक न्यौपानेले विभिन्न मिडियामार्फत वार्ता गर्न चाहेको बताए पनि संयुक्त रूपमा विद्यार्थीसँग छलफल गरी सहमति गर्न चाहेको नदेखिएको उनको भनाइ छ ।

‘एमबिबिएस र बिडिएसका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग फोनमा कुरा गरे पनि अरू सबै फ्याकल्टीका विद्यार्थीसँग उहाँ वार्तामा बस्न चाहनुभएन,’ थापाले भनिन्, ‘चितवन मेडिकल कलेजमा आठवटा फ्याकल्टीका विद्यार्थी अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका छन्, सबै फ्याकल्टीको चार वर्षको अतिरिक्त शुल्क फिर्ता हुनुपर्छ ।’ चितवन मेडिकल कलेजका सञ्चालकले एमबिबिएस र बिडिएसको प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग मात्र वार्ता गर्न चाहेका छन् ।

निर्णय विद्यार्थीको हितमा नभएको दाबी
शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चाकहरूबीच १० कात्तिकमा सहमति भए पनि त्यो सहमति विद्यार्थीको हितमा नभएको भन्दै आन्दोलन जारी छ । शैक्षिक सत्र ०७४–७५ र ०७५–७६ मा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिएको रकम फिर्ता गर्ने निर्णय भएको थियो ।

तर, त्योभन्दा अगाडिको शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीबाट लिएको शुल्क बैठकले ०७२–७३ र ०७३–७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

यो निर्णयमा विद्यार्थीले आपत्ति जनाएका छन् । आयोगमा पनि मेडिकल माफियाको प्रभाव धेरै रहेको, कहिले र कस्तो निर्णय आउने भन्नेमा शंका रहेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको आह्वानमा आन्दोलन भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like