बुटवल । बुटवलमा रहेको एक जुत्ता चप्पलको थोक पसल तथा गोदाममा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बुटवल उपमहानगरपालिका–४ संगमपथस्थित गुल्मी रेसुङ्गा ट्रेडर्समा शुक्रबार साँझ आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त जुत्ता–चप्पलको थोक पसल तथा गोदाममा साँझ करिब ७ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएपछि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दमकलको सहयोगमा केही समयमै आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आगलागीको खबर पाउनेबित्तिकै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय घटनास्थल पुगेर आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय गरेका थिए ।
आगलागीबाट भएको वास्तविक क्षतिको विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ । साथै आगलागीको कारणबारे पनि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।


