बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा यसपटकको चुनाव केवल दलगत प्रतिस्पर्धाको विषय बनेको छैन, नेतृत्वको शैली, विकासको मोडेल र सामाजिक सुरक्षाको दृष्टिकोणसमेत केन्द्रमा आएको छ। यही परिवेशमा उज्यालो नेपाल पार्टी का उम्मेदवार इन्जिनियर सुरज पाण्डे मतदातामाझ फरक पहिचानका साथ प्रस्तुत भएका छन्। प्राविधिक शिक्षा, अन्तर्राष्ट्रिय अनुभव, उद्योग व्यवस्थापन र सामाजिक एजेन्डा समेटिएको उनको उम्मेदवारीले रुपन्देही–२ मा नयाँ बहस सिर्जना गरेको छ ।

बुटवलमै जन्मिएर हुर्किएका पाण्डे स्थानीय समाजसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति हुन्। विद्यालय तहको शिक्षा बुटवलमै पूरा गरेपछि उनी उच्च अध्ययनका लागि काठमाडौं पुगे । उनले काठमाडौं विश्वविद्यालय बाट इन्जिनियरिङ अध्ययन गरे। अध्ययनका क्रममा उनी अनुसन्धान र अध्यापनमा समेत सक्रिय रहे । विश्वविद्यालयमै दुई वर्ष अध्यापन अनुभव बटुलेपछि उनी छात्रवृत्तिमा इटाली पुगे र त्यहाँ स्नातकोत्तर अध्ययन पूरा गरे। विदेश बसाइँले उनलाई अनुशासन, समय व्यवस्थापन, प्रविधिको प्रयोग र परिणाममुखी कार्यशैलीको अनुभव दियो। तर उनी विदेशमै करिअर बनाउने सोचमा रहेनन्। आफ्नै जिल्ला र देशका लागि केही गर्ने उद्देश्यले स्वदेश फर्किने निर्णय गरे ।
नेपाल फर्किएपछि उनले उद्योग र निर्माण क्षेत्रमा हात हाले। रुपन्देहीको तिलोत्तमा–टिकुलीगढ क्षेत्रमा उद्योग स्थापना गर्दै उनले युवा उमेरमै उद्यमशीलताको उदाहरण प्रस्तुत गरे। उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासमा उनी सक्रिय रहे। उनको नेतृत्वमा सञ्चालित निर्माण कम्पनीमार्फत सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको दाबी गरिएको छ भने अप्रत्यक्ष रूपमा धेरै परिवारको जीविकासँग जोडिएको बताइन्छ ।
ऊर्जा क्षेत्रमा पनि उनको संलग्नता उल्लेखनीय छ। जलविद्युत् उत्पादन, आपूर्ति र पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा उनले काम गरेका छन्। देशलाई लोडसेडिङमुक्त बनाउने अभियानका क्रममा देखिएको दृढ नेतृत्वले उनलाई गहिरो प्रभाव पारेको उनले बताएका छन्। विशेषगरी कुलमान घिसिङ को कार्यशैलीबाट आफू प्रेरित भएको उनी स्वीकार्छन्। उनका अनुसार, प्रणालीभित्र बसेर जिम्मेवारीपूर्वक काम गर्दा परिणाम सम्भव हुन्छ भन्ने विश्वासले नै उनलाई राजनीतिमा आउन प्रेरित ग¥यो।
पाण्डे अहिले उज्यालो नेपाल पार्टी बाट रुपन्देही–२ मा उम्मेदवार बनेका छन्। उनी आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत महत्वाकांक्षा नभई जिम्मेवारीको विस्तारका रूपमा व्याख्या गर्छन्। विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै उनले रुपन्देहीको दीर्घकालीन समृद्धिका लागि ‘आठ संकल्प’ सार्वजनिक गरेका छन् ।
उनका योजनामा ग्रिन कोरिडोर निर्माण, उच्च क्षमताको विद्युत् व्यापार प्रणाली विकास, सिद्धबाबा सुरुङ मार्गको कामलाई तीव्रता, बुटवल–पोखरा फास्ट ट्र्याक, बुटवल–गोरुसिंगे चारलेन सडक विस्तार, स्पिनिङ मिल स्थापना, कालिकागण्डकी बहुउद्देश्यीय योजना र औद्योगिक हब निर्माणजस्ता ठूला परियोजना समेटिएका छन्। उनका अनुसार, यी योजनाले रुपन्देहीलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न, लगानी आकर्षित गर्न र ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ। पूर्वाधार र ऊर्जा क्षेत्रमा लगानी नगरी दीगो आर्थिक विकास सम्भव नहुने उनको तर्क छ ।
तर यसपटकको चुनावी अभियानमा उनले केवल पूर्वाधार र उद्योगको कुरा मात्र गरेका छैनन्। सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै उनले ‘उज्यालो नेपाल आमा स्वाभिमान अभियान’ सार्वजनिक गरेका छन्। उनका अनुसार, नेपाली समाजको मेरुदण्डका रूपमा रहेका आमाहरूको सम्मान र सुरक्षालाई राज्यले व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्ने समय आएको छ ।

प्रस्तावअनुसार, गर्भावस्था सुरु भएदेखि बच्चा जन्मिएको ६ महिनासम्म प्रत्येक आमालाई मासिक ५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइनेछ। यो रकम पोषण, औषधोपचार र आवश्यक हेरचाहमा सहयोग पु¥याउने उद्देश्यले दिइने उनले बताएका छन्। साथै, सो अवधिभर आमा र नवजात शिशुको सम्पूर्ण स्वास्थ्य सेवा—अस्पताल भर्ना, शल्यक्रिया तथा औषधि—सरकारी तथा साझेदार अस्पतालमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। अस्पतालहरूमा आमाका लागि छुट्टै कक्ष र प्राथमिकता सेवा सुनिश्चित गरिने योजना रहेको उनले बताएका छन् ।
यस अभियानले कानुनी सुरक्षालाई पनि समेटेको छ। घरेलु हिंसा, सम्पत्ति विवाद, श्रम शोषण, बालविवाह र दाइजो जस्ता समस्याबाट पीडित महिलाका लागि ‘विशेष कानुनी सहायता सेल’ गठन गर्ने प्रस्ताव उनले अघि सारेका छन्। यस अन्तर्गत राज्यले नै वकिल तथा अदालती खर्च व्यहोर्ने व्यवस्था गरिने बताइएको छ । न्यायमा पहुँच नपाएका महिलालाई कानुनी सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिक आमाहरूको सम्मानजनक जीवनयापनका लागि पनि उनले आर्थिक सहुलियतका योजना अघि सारेका छन्। ६० वर्ष नाघेका आमाका सन्तानले सरकारी वा निजी क्षेत्रमा रोजगारी गर्दा पारिश्रमिकमा ७५ प्रतिशतसम्म आयकर छुट दिने व्यवस्था गरिने प्रस्ताव गरिएको छ। यसले सन्तानलाई आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्न आर्थिक रूपमा प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। साथै, ६० वर्ष पुगेका आमाहरू बसोबास गर्ने घरमा बिजुली, खानेपानी र घरजग्गा करमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यसरी सुरज पाण्डेको चुनावी एजेन्डाले दुई तहमा बहस अघि सारेको छ—एकातिर ठूला पूर्वाधार र औद्योगिक विकासका योजना, अर्कोतिर आमाहरूको सम्मान, सामाजिक सुरक्षा र न्यायको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता। उनले आफूलाई परिणाममुखी सोच, प्राविधिक दृष्टिकोण र सामाजिक संवेदनशीलता बोकेको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् ।




