लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति : उद्योगी–ब्यवसायी राजधानी सार्नेलाई अनुमोदन नगरौँ : खाँण

by समतल अनलाइन
80Shares

बुटवल।बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् । केही भएपनि चलायमान भएको यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले राजधानी सरेपछिको क्षतिले बर्षौंसम्म हानिरहेको समेत उल्लेख गरे ।

बुटवल कालिकानगरमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गर्नुभयो । उहाले आफुले नीजिक्षेत्रमा अर्बाैँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा समस्या भोगेको समेत स्मरण गर्नुभयो । उहाँले अबको संसदमा नेपाली अर्थतन्त्र,लगानी,कृषि उत्पादनको बजार,पर्यटन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका एजेण्डालाइ सधै प्राथमिकता राख्ने बताउनुभयो । पौडेलले रुपन्देही क्षेत्रको आवश्यकता,संभावना,समस्या र चुनौती राम्रोसंग बुझेकाले देखेका र भोगिरहेको समस्याबाट उद्योगी ब्यबसायीलाइ मुक्त गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले घरदैलोमा जाँदा जनताले दिएको सुझाव, सल्लाह र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले कांग्रेसले रुपन्देहीमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी दाङ सार्नेलाइ अब यहाँका जनताले अनुमोदन गर्न नहुने जिकिर गर्नुभयो । देश र लोकतन्त्रलाई बलियो बनाइ संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाइ जिताउनुपर्ने नेता खाँणको भनाइ छ ।

सो अवसरमा बोल्दै राजनीतिक बिश्लेषक अरुणकुमार सुवेदीले नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा बिस २०४८ सालको बैंकिङ उदारिकरणको नीतिले देशमा आर्थिक अवस्था सुधारिएको र साना ब्यवसायीले पनि ठूलो कारोबार गरेर आर्थिक अबस्था अब्बल बनेको उल्लेख गर्नुभयो । उहाँले २०६३ सालपछि देश कम्यूनिष्टको नेतृत्वमा जाँदा तहसनहस भएको स्मरण गर्नुभयो । उहाले अब कांग्रेसले यसलाइ सुधारेर जनतामा आशा जगाउनुपर्ने बताउनुभयो ।नेपाली कांग्रेसले आफूलाइ बदलेको स्मरण गर्र्दै उहाँले पूजीको सहि प्रयोग,परिचालन हुन सके देशकै आर्थिक अबस्था सुधारिने बताउनुभयो । सुवेदीले नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा सामाजिक र राजनैतिक स्वतन्त्रता मात्रै प्रदान नगरि आर्थिक स्वतन्त्रता पनि उल्लेख गर्नुपर्ने सुझाव समेत दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामबहादुर कार्की,कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेस उद्योगी ब्यवसायी परिचालन समितिका संयोजक हरि अर्याल,उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारी लगायतले बोल्नुभएको थियो ।

त्यसैबिच आदिवासी जनजाति समुदाय परिचालन समितिको आयोजनामा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार चुन्न प्रसाद पौडेल सँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र प्रतिनिधित्वका विषयमा गम्भीर छलफल गरिएको थियो ।कार्यक्रममा बोल्दै रुपन्देही–२ का सभापति तथा निर्वाचन परिचालन संयोजक प्रजापाल गिरीले नेपाली कांग्रेसले सबै जातजातिलाई आधार मानेर संविधान निर्माण गरेको उल्लेख गर्नुभयो ।

उहाँले कांग्रेस सधैं समावेशी सिद्धान्तको पक्षमा रहेको र आदिवासी जनजातिलाई स्थानीय तहदेखि केन्द्रसम्म स्थान दिँदै आएको बताउनुभयो ।शुभकामना मन्तव्य दिँदै लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नर बहादुर थापाले लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । हरेक लोकतान्त्रिक आन्दोलनमा जनजाति समुदायले आफ्नो ज्यान र बलिदान दिएको छ उहाँले भन्नुभयो, अब उनीहरुको हक अधिकार सुनिश्चित हुनु आवश्यक छ ।

कार्यक्रममा बोल्दै उम्मेदवार चुन्न प्रसाद पौडेलले आदिवासी जनजाति समुदायसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । म निर्वाचित भएर केन्द्र पुगेपछि आदिवासी जनजातिका मागहरुलाई सशक्त रुपमा उठाउनेछु उहाँले भन्नुभयो ।

उहाँका अनुसार पहिचानको अधिकार, समान अवसर तथा राज्यका सबै संरचनामा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नु आफ्नो प्राथमिकतामा पर्नेछ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्द पहराईले पनि आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका सवालमा पार्टी स्पष्ट रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राम बहादुर कार्की, छन्द बहादुर पहराई मगर, लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नरबहादुर थापा, तरुण दलका नगर अध्यक्ष सुदन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति निर्वाचन परिचालन संयोजक झप्पड बहादुर गुरुङले गर्नुभएको थियो । स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति नगर कमिटीका सभापति अरुण श्रेष्ठले राख्नुभएको थियो । त्यस्तै बुटवल–४ का वडा सभापति अरुण श्रेष्ठले पनि अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नर बहादुर रजाली मगरले गर्नुभएको थियो ।

You may also like