चुनावी प्रचारमा गाली होइन प्रेम सम्प्रेषण गरौं : उपसभापति शर्मा

by समतल अनलाइन
64Shares

काठमाडौँ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज लमजुङमा आयोजित खुला सभामा सम्बोधन गर्दै आफू बदल्न सक्नेले मात्र अरुलाई बदल्न सक्ने बताएका छन् ।

उपसभापति शर्माले कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता जनाएको पनि बताए । उनले भने, ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन् ।’

शर्माले चुनावी मैदानमा गाली होइन, प्रेम सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसमा गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिँदैन । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिँदै समाजमा भोलि निराशा सिर्जना गर्ने काम हाम्रा भाषण र घोषणापत्रमार्फत नगरौं ।’

देशको शासनमा आवश्यक सुधार र परिमार्जनको केस्राकेस्रा कांग्रेसले गर्ने बताए । उनले जेन–जी विद्रोहको भावनासँग मेल खाने सुधार, परिवर्तन र समग्र सुधार कार्य कांग्रेसले सम्भव बनाउने उल्लेख गरे । ‘देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ—जो बदलिन सक्छ, उसैले मात्र बदल्न सक्छ,’ उनले भने ।

उपसभापति शर्मा निर्वाचन प्रचार अभियानको पहिलो दिन लमजुङको कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र बीपी कोइरालाको सालिक अनावरणपछि खुला सभामा सहभागी भएर तनहुँको जिल्ला स्तरीय वृहत् भेलामा पुगेका थिए ।

You may also like