जसपा नेपालबाट रुपन्देही- ३ मा उम्मेदवार बनेका यादव एमालेमा प्रवेश

by समतल अनलाइन
75Shares

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही- ३ का जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सोमबार उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी त्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

यादवले कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलो अभियानमा सहभागी भएको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक स्थायित्वका लागि एमाले प्रमुख शक्ति बन्ने विश्वासका आधारमा आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले भनेका छन्- ‘देश र जनताको हितलाई सर्वोपरि राख्दै आजकै मितिदेखि जसपाको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’

यादवले आफ्ना समर्थक तथा मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन् ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित जिल्लाका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका थिए । यादवको निर्णयपछि रुपन्देही–३ को चुनावी समीकरणमा प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

रुपन्देही-३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् भने काँग्रेसबाट सुशिल गुरुङ, रास्वपाबाट डा. लेख जंग थापा, राप्रपाबाट गौरब बोहोरा र नेकपाबाट फैज अहमद खाँ उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेको समर्थनमा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए ।

You may also like