सिद्धार्थ केवलकारको आईपीओ जारी गर्ने प्रस्ताव पारित

by समतल अनलाइन
12Shares

बुटवल । बुटवलस्थित सिद्धार्थ केवलकार लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले कम्पनीका विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा सम्पन्न भएसँगै आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने कम्पनीका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले जानकारी दिनुभयाे ।
कम्पनीको केवलकार परियोजना नुवाकोटगढी क्षेत्रमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र ऐतिहासिक रूपमा वीर नेपालीहरूले अंग्रेज सेनालाई परास्त गरेको स्थानका रूपमा परिचित छ । साथै सोही क्षेत्रमा भगवान् गौतम बुद्धका कुलगुरुको प्राचीन आश्रम रहेको उल्लेख विभिन्न बौद्ध धर्मग्रन्थहरूमा पाइने कम्पनीले जनाएको छ, जसले धार्मिक तथा पर्यटन सम्भावनालाई थप बलियो बनाएको छ ।

कम्पनीका अध्यक्ष बुटवलका स्थानीय उद्यमी ई. गुरुङ र प्रबन्ध सञ्चालकमा सेयर विश्लेषक, लगानीकर्ता तथा जलविद्युत् व्यवसायी प्रभुलाल अधिकारी रहनु भएकाे छ । कम्पनीका मुख्य लगानीकर्तामा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड, प्रभु ग्रुप्स तथा बुटवल क्षेत्रका विभिन्न व्यवसायीहरू रहेका छन् ।
सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा करिब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

आगामी वर्षमा अझ उच्च मुनाफा हासिल गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, गत वर्ष तीन लाखभन्दा बढी पर्यटकले सिद्धार्थ केवलकारमार्फत यात्रा गरेको जानकारी पनि साधारण सभामा दिइएको थियो ।

आईपीओ जारी भएसँगै कम्पनीको पूँजी संरचना थप सुदृढ हुने र पर्यटन पूर्वाधार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

You may also like