काठमाडौं ।सरकारबाट बर्खास्तीमा परेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा लागेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेपछि कार्की कानुनी उपचारको खोजीमा लागेका हुन् ।
सरकारको निर्णयविरुद्ध अदालत जाने विषयमा कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग परामर्श गरेका छन् ।
कार्कीले अब के गर्ने भन्ने विषयमा आफूसँग परामर्श गरेको अधिवक्ता नेपालले बताए । ‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँबाहेक अर्को बाटो छैन भनेको छु,’ नेपालले भने ।
कार्कीका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी भइरहेको छ । त्यसका लागि यसअघि सर्वोच्च अदालतले गरेका यस्तै प्रकृतिका निर्णय र कानुनी नजिरहरूको अध्ययन भइरहेको कार्कीनिकट एक प्रहरी अधिकारीले बताए ।
ती अधिकारीका अनुसार बुधबार नै रिट दर्ता गर्ने प्रयास भइरहेको छ ।


