बुटवलमा मङ्सिरको दोस्रो साता पाँचदिने खाना महोत्सव हुने

by समतल अनलाइन
9Shares

बुटवल । नेपाली मौलिक कला, संस्कृति, खानपान र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यले बुटवलमा खाना महोत्सव आयोजना हुने भएको छ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा देवीनगरस्थित रंगशालामा पाँचदिने बुटवल खाना महोत्सव २०८३ सञ्चालन गरिने भएको हो। संघका अध्यक्ष माधवकुमार खनालका अनुसार बुधबार बसेको संघको बैठकले मंसिर ११ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो।

अध्यक्ष खनालले बुटवलमा खाना महोत्सवलाई पर्वकै रूपमा स्थापित गर्दै संघले निरन्तर आयोजना गर्दै आएको बताए। महोत्सवमा नेपाली मौलिक खानाका विभिन्न परिकारका साथै मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम समावेश गरिने उनले जानकारी दिए।

महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न संघले विभिन्न उपसमिति गठन गरेको छ। अध्यक्ष खनालको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीलाई स्टल अनुगमन तथा निरीक्षण, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेलाई विद्युत् जडान तथा व्यवस्थापन र वरिष्ठ उपाध्यक्ष अर्जुन थापालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रम, मञ्च निर्माण र सजावट उपसमितिको जिम्मेवारी दिइएको छ।

त्यसैगरी प्रथम उपाध्यक्ष थम्मन भण्डारीलाई स्टल निर्माण, साउन्ड तथा सुरक्षा व्यवस्थापन, द्वितीय उपाध्यक्ष प्रेमप्रसाद भट्टराईलाई स्टल बुकिङ तथा वितरण व्यवस्थापन र तृतीय उपाध्यक्ष रामबहादुर न्यौपानेलाई मञ्च तथा सचिवालय निर्माणको जिम्मेवारी दिइएको छ।

महासचिव केशवराज कँडेललाई मूल समारोह समितिको सदस्य सचिव, कोषाध्यक्ष अर्जुन पोखरेललाई आर्थिक समन्वय तथा खाना र आवास व्यवस्थापन, सचिव तुल्सीराम पराजुलीलाई संघसंस्था समन्वय तथा पत्राचार र सहसचिव डिल्लीराम अर्याललाई छपाइ तथा पुरस्कार वितरणको जिम्मेवारी तोकिएको छ।

त्यस्तै सहकोषाध्यक्ष खुमराज ज्ञवालीलाई सामग्री खरिद तथा बजार व्यवस्थापन र सदस्य एकदेव पाण्डेलाई जनचेतना र्‍याली तथा मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको संघले जनाएको छ।

विगतका वर्षको निरन्तरतालाई कायम राख्दै यस वर्षको महोत्सवलाई थप आकर्षक बनाउने तयारी गरिएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए। उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानाका परिकार र विभिन्न मनोरञ्जनात्मक स्टलहरू रहनेछन्।

महोत्सवले स्थानीय कला, संस्कृति र खानपानको प्रवर्द्धनसँगै पर्यटन व्यवसायको विकास, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds