अर्थतन्त्रलाई चलायमान बनाउन अध्यादेश आवश्यक: मन्त्री गुरुङ

by समतल अनलाइन

बुटवल।सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको तत्काल आवश्यकता पूरा गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन्। मुलुकको आर्थिक अवस्था सुधार गर्न, निजी क्षेत्रलाई प्रोत्साहन र लगानीसँग सम्बन्धित नीति सुधार आवश्यक भएको भन्दै उनले सरकारको निर्णयलाई समर्थन गरे।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, “अध्यादेश मुलुकको आवश्यकता अनुसार ल्याइएको हो। अर्थतन्त्रलाई आइसियूबाट बाहिर निकाल्न यो कदम आवश्यक थियो।” उनले जनतालाई तुरुन्तै सेवा पुर्याउनका लागि अर्थतन्त्रलाई गतिशील बनाउँदै लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले अध्यादेश ल्याइएको बताए।

संविधान संशोधनको विषयमा उनले भने, “सत्तारुढ दलहरू बीच सैद्धान्तिक सहमति भैसकेको छ। अब सबै दलहरू बीच एजेण्डामा छलफल हुन बाँकी छ। संविधान संशोधन प्रक्रिया सुरु भइसकेको छ र यसमा सबै दलको सहमति आवश्यक छ।”

नेकपा एमालेका उपमहासचिव गुरुङले वर्तमान सत्ता गठबन्धन १०० प्रतिशत सहकार्यमा सञ्चालन भइरहेको दाबी गरे। बाहिर आएका हल्ला जस्तो गठबन्धनको भविष्यमा कुनै असहमतिका कारण तलमाथि हुने सम्भावना नरहेको उनले जोड दिए।

सहकारी पीडितहरूको न्यायका लागि सरकारले काम गरिरहेको भए पनि केही सुस्तता रहेको स्वीकार गर्दै उनले भने, “हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी रकम पीडितलाई फिर्ता गरिएको छ। दोषीलाई छानबिन गरी कारबाही गरिने छ, तर सडकमा आन्दोलन गर्दा अपराधीलाई छुटकारा नदिने हाम्रो नीति छ।”

कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहिका अध्यक्ष लक्ष्मण पौडेलले धन्यवाद व्यक्त गरे।

 
 
  
 

You may also like