देवीघाटमा नेपाली सेनाले पाँच दिनमै जडान गर्‍यो एक्रो ब्रिज

by समतल अनलाइन
29Shares

नुवाकोट। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।

नेपाली सेनाको टोलीले दिनरात निरन्तर खटिएर पाँच दिनमै पुल जडानको काम पूरा गरेको हो। पक्की पुल बगेपछि देवीघाट हुँदै नुवाकोटसहित आसपासका विभिन्न स्थानमा हुने यातायात सेवा प्रभावित बनेको थियो।

नयाँ एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा ठूलो समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि सर्वसाधारणको नियमित आवागमनसमेत प्रभावित बनेको थियो।

बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले निरन्तर काम गरेपछि छोटो समयमै पुल सञ्चालनयोग्य अवस्थामा पुगेको हो।

पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। पुल सञ्चालनपछि स्थानीयवासी, व्यवसायी तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने भएको छ।

You may also like