केरुङमा अलपत्र ६७० नेपालीको तातोपानी नाका हुँदै उद्धार

by समतल अनलाइन
26Shares

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल ल्याइएको छ। चीन सरकारको सहयोग तथा नेपालतर्फ सशस्त्र प्रहरीको समन्वयमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काइएको हो।

व्यापार, व्यवसाय, भ्रमण तथा पर्यटनका लागि केरुङ पुगेका नेपाली भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि स्थलमार्ग अवरुद्ध हुँदा चीनमै रोकिएका थिए। उनीहरूलाई भदौ १८ गतेदेखि तातोपानी नाका हुँदै नेपाल प्रवेश गराउन थालिएको थियो।

सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४, १९ गते १५५, २० गते ९६, २१ गते १०५, २२ गते १०६ र २३ गते ९४ जना गरी हालसम्म ६७० नेपाली स्वदेश फर्किएका छन्।

उद्धार तथा सीमा आवागमन सहज बनाउन बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ जनाको विशेष टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार चीनतर्फ अलपत्र परेका नेपालीको सुरक्षित उद्धार र स्वदेश फिर्तीका लागि आवश्यक समन्वय निरन्तर भइरहेको छ।

नेपाल फर्किएका नागरिकलाई स्थानीय तह तथा विभिन्न संघ–संस्थाको समन्वयमा सवारीसाधनको व्यवस्था गरी काठमाडौं पठाइएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र अरनिको यातायात प्रालिले काठमाडौंसम्म यात्रु पुर्‍याउन बसको व्यवस्था गरेका छन्।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले केरुङमा रहेका नेपालीको विवरण संकलन गरी राहदानी नम्बरसमेतका आधारमा उनीहरूलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ।

बाढीका कारण तातोपानी भन्सारको नियमित गतिविधि प्रभावित भए पनि पर्यटक आवागमनका लागि नाका खुला रहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच, केरुङमा अझै ठूलो संख्यामा नेपाली नागरिक रहेको प्रशासनले जनाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार चिनियाँ पक्षबाट प्राप्त जानकारीमा केरुङ क्षेत्रमा करिब १ हजार ७ सय नेपाली रहेको विवरण आएको छ। उनीहरूलाई पनि क्रमशः तातोपानी नाका हुँदै सुरक्षित रूपमा नेपाल ल्याउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ।

You may also like