आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

by समतल अनलाइन
23Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थान, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

You may also like